मकवानपुर । मकवानपुरमा वर्षेनी लागूऔषधसम्बन्धी मुद्दा दर्ता हुने क्रम बढ्दो छ । जिल्लामा सबैभन्दा बढी लागूऔषधसम्बन्धी आपराधिक घटनाका मुद्दा दर्ता र उक्त घटनामा संलग्न रहेकाहरु पक्राउ पर्नेका संख्या बढ्दै गएको पाइएको हो ।
जिल्लामा भएका सबै प्रकारका आपराधिक घटनामध्ये प्रमुख चुनौतीको रूपमा लागूऔषधसम्बन्धी मुद्दा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए । उनले त्यसको नियन्त्रण पेचिलो बन्दै गएको बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार, मकवानपुरमा गत आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषधका १८८ वटा मुद्दा दर्ता भएका छन् भने स्वदेशी र विदेशी गरी २८९ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा लागूऔषधका १५८ वटा मुद्दा दर्ता भएका थिए भने २४९ जना पक्राउ परेका थिए ।
यस्तै, आर्थिक वर्ष २०८१÷०८२ मा ६ हजार ४ केजी गाँजा बरामद गरिएको थियो भने अघिल्लो आर्थिक वर्षमा ३ हजार ९३१ केजी गाँजा प्रहरीले बरामद गरेको थियो ।
त्यसैगरी, आव ०८१/०८२ मा २६ किलोग्राम अफिम र ५१ किलोग्राम चरेस बरामद गरिएको छ। प्रहरीले खैरो हेरोइन ४७६ ग्राम, नाइट्राभेट ९५ हजार २७१ ट्याब्लेट, डाइजेपाम २७५७ एम्पुल, कोरेक्स ६२८ बोतल नियन्त्रणमा लिएको थियो । लागूऔषध ओसारपसारमा प्रयोग गरिएका ५५ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।















