काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रिय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा सम्पन्न एमालेको दुई दिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र अनुशासनको आवश्यकता भएको बताए ।
उनले भने,“ राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ,विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो ।’’ ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि धेरै महत्त्वपूर्ण कामहरु भएको पनि जानकारी दिए ।
नेता थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु जरुरी रहेको बताए । उनले पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेता थपलियाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूमाथि भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरे । “सामाजिक सञ्जाल अहिलेको आकर्षण हो, तर यसलाई सकारात्मक प्रभाव पार्नेगरी सदुपयोग गर्नुपर्छ ।”
पार्टीका जिम्मेवारीमा बसेर पनि पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेता थपलियाले स्पष्ट धारणा राखे । उनले पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइका साथ निर्णय लिनुपर्ने र पार्टीभित्रको विश्वसनीयता र सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

















