मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्याएको थियो । सोही विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि गाउँपालिकाले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकामा आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, बाढीपीडितको सहयोगार्थ गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो ३ महिना बराबरको सेवा सुविधा तथा अन्य जनप्रतिनिधिहरूले १ महिना बराबरको सेवा सुविधा बापतको रकम समेत सोही कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको पत्रअनुसार आवश्यक उद्धार सामग्रीसमेत गाउँपालिकाले सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरेकाे छ ।
विपद् प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न तथा जिन्सी सामग्री संकलन गरी पठाउन मनहरी गाउँपालिकाले पालिकाभित्र रहेका स्थानीय उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र समिति, सामुदायिक वन उपभोक्ता समिति लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्था र आम नागरिकलाई समेत अपिल गरेको छ ।
राहत संकलन व्यवस्थापनका लागि सम्बन्धित वडाका वडाध्यक्षहरूका साथै गाउँपालिकाका सम्पर्क व्यक्ति ज्ञानेन्द्र ढकाल (९८४५९७८२८१) र नगर प्रहरी प्रमुख मेनराज घलान (९८२१८९००४७) लाई तोकिएको छ।
गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।














