हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको यात्रुवाहक ईभीले विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा सुमो चालक पर्साको बिन्दवासिनी गाउँपालिका–३ का ३४ वर्षीय रविन्द्र उपाध्याय घाइते भएका छन्। उनको दुवै खुट्टा र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सुमोमा सवार पर्साको वीरगन्ज महानगरपालिका–३१ की ३१ वर्षीया राधिका देवीको टाउको र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम छ। सोही स्थानकी २६ वर्षीया रेखा ओझाको अनुहारमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही स्थानकी ४० वर्षीया उपम देवीको टाउकोमा चोट लागेको छ। वीरगन्ज महानगरपालिका–१५ का ३२ वर्षीय शौरव कुमार गुप्ताको टाउकोमा चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गुप्तासँगै सुमोमा सवार उनका ३० महिनाका छोरा सौर्य साहको दुवै हातमा चोट लागेको छ। उनको अवस्था पनि सामान्य छ।
ईभी चालक गोरखाको आरुघाट गाउँपालिका–७ का ३० वर्षीय सोमबहादुर गुरुङको छातीमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ईभीमा सवार रौतहटको बृन्दावन नगरपालिका–९ की ८ वर्षीया खजिना खातुनको नाक र दायाँ खुट्टामा चोट लागेको छ। सर्लाहीको बरहथवा नगरपालिका–८ का ३१ वर्षीय हरिन्द्र रायको अनुहार र बायाँ हातमा चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सर्लाहीको गोडैटा नगरपालिका–६ का ३१ वर्षीय राकेश महन्तको दाहिने हात, छाती र टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य छ। सोही नगरपालिका–२ का २२ वर्षीय शत्रुधन कुशहवाको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था पनि सामान्य रहेको छ।
घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। प्रहरीले दुवै सवारीसाधनलाई प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा राखेको छ।
दुर्घटनाका कारण राजमार्गमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहितको टोली खटिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














