विश्व वातावरण दिवसको अवसरमा प्रकृति संवाद यात्रा

हेटौँडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाले आइतबार प्रकृति संवाद यात्रा कार्यक्रमको आयोजना गरेको छ । नगर समन्वय समितिले विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रकृति संवाद यात्रा कार्यक्रमको आयोजना गरेको हो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा लामाले वातावरण संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हेटौंडा उपमहानगरपालिकाले वातावरणमैत्री नीति तथा व्यवहारमा जोड दिँदै आएको छ। यस्ता बालमुखी अभियानहरूले वातावरणप्रतिको व्यवहारिक ज्ञान दिन्छन्, जुन दीर्घकालीन रूपमा निकै फलदायी हुन्छ।”

कार्यक्रम अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बालबालिकाहरूको सक्रिय सहभागिताले भावी पुस्तामा वातावरणप्रतिको चासो र जिम्मेवारीको संकेत दिएको उल्लेख गर्दै भने, “हामी सबैको साझा प्रयासबाट मात्रै स्वच्छ, हरित र दिगो वातावरणको निर्माण सम्भव छ। प्रकृति सम्वाद यात्रा जस्ता कार्यक्रमले बालबालिकाहरूमा चेतना र जिम्मेवारीको भावना विकास गर्न सहयोग गर्छ।”

वन विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले सहजीकरण गरेको कार्यक्रममा हेटौँडा क्षेत्रका विभिन्न विद्यालय तथा बाल क्लबहरूबाट ७५ जना बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणभित्र रहेको जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए ।

साथै, वातावरणीय संरक्षणका विषयमा संवादात्मक शिक्षा दिइएको थियो। उनीहरूले वन संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन लगायतका विषयमा सहभागीलाइ जानकारी गराएका थिए।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, शान्ति श्रेष्ठ, महासचिव शिवहरी दाहाल, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, पुन्यवती घिमिरे, सदस्यहरू सुरेश लामिछाने, उर्मिला राना मगर, कमला पौडेल, लिना बरूवाल, माया पौडेल, हरीगोपाल सापकोटा लगायतका साथै सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बाँनिया र एनआईसिय हेटौंडाका निश्चल भट्ट लगायतको उपस्थिति रहेको थियो।

यसै सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बिहान ७ बजे हेटौँडा औद्योगिक क्षेत्रको खेलमैदानमा विशेष कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा खाली प्लास्टिकका बोतल साटेर फलफूलका विरुवा वितरण गरिनेछ। यस अभियानमार्फत वातावरण संरक्षणको सन्देश फैलाउनुका साथै खेरजाने प्लास्टिक व्यवस्थापनमा जनचेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ।

कार्यक्रमले बालबालिकामाझ वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै प्रकृतिप्रतिको आत्मीयता र जिम्मेवार व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.