हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो धनजनको क्षतिको परिस्थितिको फाइदा उठाउँदै राहत संकलनको नाममा व्यक्तिगत बैंक खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको थियो। सोही विपद्को अवस्थालाई मध्यनजर गर्दै राहत संकलनका नाममा व्यक्तिगत बैंक खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजिएको सम्बन्धमा प्रहरीमा उजुरी परेको थियो।
उजुरीका आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। व्यक्तिगत बैंक खाता तथा QR कोड प्रयोग गरी राहतका नाममा रकम संकलन गर्न खोजिएको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीले विपद्को समयमा राहत तथा सहयोगका नाममा हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। राहत तथा सहयोग रकम उपलब्ध गराउँदा सम्बन्धित सरकारी निकाय वा आधिकारिक संस्थामार्फत मात्र सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
त्यसैगरी, राहत संकलनको नाममा आफ्नो व्यक्तिगत बैंक खाता वा QR कोड प्रयोग नगर्न सम्बन्धित सबैलाई प्रहरीले आग्रह गरेको छ।















