मकवानपुर । मकवानपुर प्रहरीले ८० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका–१० मिरकोट स्थायी घर भई हाल काठमाडौं कालिमाटी बसोबास गर्ने २८ वर्षीय मधुसूदन अधिकारी र सवारीमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाडौं डल्लु बसोबास गर्ने २५ वर्षीय नवराज खड्का रहेका छन् ।
मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा लागूऔषध ओसारपसार भइहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोली उनीहरुलाई गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले शुक्रबार राति १ः३० बजेको समयमा डाँडाबासबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ च ४४११ नम्बरको टाटा सुमो गाडीलाई थानाबजार नजिकै रोकी जाँच गर्दा गाडी भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा ८० किलो १२० ग्राम बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















