बागमती प्रदेशः ८ महिनामा ४ हजारभन्दा बढी उद्योग दर्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो ८ महिनाको अवधिमा ४ हजारभन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुन मसान्तसम्ममा कुल ४ हजार २५५ वटा साना तथा मझौला उद्योग दर्ता भएको प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलका अनुसार, प्रदेशको क्षेत्राधिकारभित्र पर्ने उत्पादनमूलक, कृषि तथा वन पैदावार, ऊर्जामूलक, निर्माण, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, सेवामूलक र खनिज सम्बन्धी साना तथा मझौला उद्योग दर्ता भएको हो ।

सो अवधिमा प्रदेशको १३ जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयमा ४ हजार २५३ र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा ३ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

सो अवधिमा सबैभन्दा धेरै उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंमा र सबैभन्दा कम उद्योग दर्ता भएको छ । जसमध्ये काठमाडौंमा १ हजार २५३ र रसुवामा ३१ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

यसैगरी, सिन्धुलीमा १३२ वटा, रामेछापमा ६१ वटा, दोलखामा १८१ वटा, सिन्धुपाल्चोकमा ४० वटा, काभ्रेमा ३७० वटा, भक्तपुरमा १ हजार १२४ वटा, ललितपुरमा ३५७ वटा, नुवाकोटमा एक सय वटा, धादिङमा ९४ वटा, चितवनमा २१३ वटा र मकवानपुरमा २९६ वटा उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशभित्र आर्थिक वर्ष २०७६÷०७७ यता कुल ६० हजार २५१ साना र ३ वटा मझौला उद्योग दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.