हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले शिक्षकको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । शिक्षकहरु आन्दोलनमा उत्रिरहेको बेला पार्टी प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्तिमार्फत् शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्नसक्ने ऐन जारी गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा विद्यालय शिक्षा ऐन जारी माग गर्दै केही दिनदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन गरिरहेको अवस्थामा कांग्रेस बागमती विज्ञप्ति जारी गरेको हो । शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका विभिन्न मागहरुका साथै विगतमा नेपाल सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागि गरिएका आन्दोलन, विगतमा गरिएका सम्झौता कार्यान्वयन र महासंघले उठाएका जायज मागहरुलाई वार्ता तथा सम्वादबाट समाधान गर्न जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति पूर्णऐक्यवद्धता जनाउँदै शिक्षक तथा विद्यालय कर्मचारीहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं,’ उनले शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार भएकाले यसप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति प्रतिबद्ध रहँदै नेपाल सरकारलाई शिक्षक महासंघले उठाएका जायज मागहरुलाई वार्तामार्फत तत्काल समाधान दिन अपिल गरेका छन् ।
शिक्षा ऐन माग राखेर आन्दोलनमा रहेका शिक्षकहरुले शनिबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक आन्दोलित छन् । सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षा ऐन जारी नहुँदासम्म वार्ताको कुनै औचित्य नहुने भन्दै सरकारको आग्रहलाई उनीहरु अस्वीकार गर्दै आएका छन् ।

















