मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका स्थानीय अभिभावकको श्रमदानबाट २ कोठे भवन निर्माण भएको छ । कक्षा कोठाको अभाव भएको अवस्थामा जग्गा दान प्राप्त भएपछि अभिभावकको श्रमदान तथा आर्थिक सहयोगमा कैलाश ७ मा रहेको कोथलिटार आधारभूत विद्यालयमा २ कोठे भवन निर्माण गरिएको हो ।
उक्त भवन शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । विद्यालयका अध्यक्ष लोकबहादुर नेगीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।गाउँपालिका अध्यक्ष मुक्तानले चेपाङ र तामाङ समुदायका बसोबास रहेको क्षेत्रमा सञ्चालन हुँदै आएको विद्यालय प्राथमिक तहबाट क्रमशः आधारभूत तहमा स्तरोन्नति भइसकेको बताए ।
उनले भविष्यमा विद्यालयलाई माध्यमिक विद्यालय (मावि) तहसम्म विस्तार गर्ने प्रतिवद्धता समेत जनाए । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउँदै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन आग्रह गरे ।
उनले विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकहरू पनि लगनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए । सामुदायिक एकता, अभिभावकको सक्रियता तथा स्थानीय तहको सहयोगले विद्यालयको थप विकास सम्भव रहेको बताएको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रममा विद्यालयका लागि जग्गा प्रदान गर्ने मानबहादुर नेगीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो भने ट्रस भवन निर्माणमा सहयोग र्पुयाउने विभिन्न दाता तथा सहयोगीहरूलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । अभिभावकबाट एकलाख ९९ हजार ७०७ रुपैयाँ संकलन गरिएको थियो भने विद्यालयतर्फबाट ६१ हजार तीनसय संकलन गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम श्रेष्ठले बताए ।
कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष उदासकुमार भोलन, वडा सदस्य मानबहादुर चेपाङ, प्रधानाध्यापक सीताराम श्रेष्ठ, जनजागरुक युवा क्लबका अध्यक्ष तथा भवन निर्माण समितिका कोषाध्यक्ष सुरेन्द्र घलान, विद्यालय व्यवस्थापन समिति सदस्य सरस्वती चेपाङ र रोमिका चेपाङ, पीटीए अध्यक्ष रमेश स्याङ्तान, विद्यालयका पूर्व अध्यक्ष सन्तबहादुर सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।















