हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी, सहकारी अभियन्ता र सहकारीमा संलग्न सबैलाई शुभकामना व्यक्त गरेका छन् । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा उनले एक सन्देश जारी गर्दै शुभकामना दिएका हुन् ।
उनले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा ठूलो योगदान रहेको बताए । निम्न आय भएका किसान, श्रमिक र मजदुरको समुदायभित्रकै पूँजी परिचालन मार्फत् आर्थिक संकट टार्ने, उद्यमशीलता विकास गर्ने र बचतको संस्कृति मार्फत् आर्थिक उपार्जनमा मद्दत गर्ने सहकारी क्षेत्रको अभियान प्रशंसनीय रहेको प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा उल्लेख गरे ।
नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत् समृद्ध अर्थतन्त्रको परिकल्पना गरेको छ। प्रमुख देवकोटाले सहकारीको विकास र विस्तार समृद्धिको महत्वपूर्ण पाटो हुनसक्ने कुरामा उनले जोड दिए । तर, केही व्यक्तिहरूको संलग्नतामा बचतकर्ताहरूको रकम हिनामिना गरी आर्थिक अपराध गर्ने र सम्पूर्ण सहकारी क्षेत्रलाई बदनाम गराउने क्रियाकलापहरू भएको सन्दर्भमा सहकारीकर्मीहरू सचेत र गम्भीर भई गलत प्रवृत्तिको पुनरावृत्ति हुन नदिन पहल गर्नु पर्ने समेत उनले बताए ।
सम्बन्धित निकायले बचतकर्ताको बचत सुरक्षणमा कुनै कसर बाँकी राख्न नहुनेमा उहाँले जोड दिए । उनले सहकारी संस्थाहरू पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गरिनुपर्ने बताए । सहकारी दिवसले सहकारीको गरिमालाई उच्च राख्न सबैलाई प्रेरणा दिने उेनले जारी गरेको सन्देशमा उल्लेख छ ।

















