मकवानपुर । मकवानपुरमा मतगणनाको लागि सर्वदलीय बैठक बस्दैछ । जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा सम्पन्न मतदानको मतपेटिका गएरातिसम्म हेटौँडा ल्याएसँगै बिहानै सर्वदलीय बैठक बसिरहेको हो ।
मकवानपुरको मतगणना हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित भुटनदेवी माध्यमिक विद्यालयमा हुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा शान्तिपूणै रुपमा सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ५९ दशमलव १६ मत खसेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार, जिल्लाको कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ रहेकोमा १ लाख ८६ हजार ५५१ मत खसेको हो । जसमा ९६ हजार ६३४ जना पुरुष, ८९ हजार ९१२ जना महिला र अन्य पाँच जना मतदानमा सहभागी भएका छन् ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर– १ मा ९५ हजार ३१० मत खसेको र निर्वाचन क्षेत्र नम्बर– २ मा ९१ हजार २४१ मत खसेको छ । मकवानपुरका दुई अस्थायी गरी ३७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३६६ कर्मचारी खटिएका हुन् ।
जिल्लामा १६७ मतदान स्थल रहेका थिए ।















