हेटौँडा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत श्रम संस्कृति पार्टीले मकवानपुर जिल्लामा औपचारिक राजनीतिक प्रवेश गरेको छ । पार्टीबाट मकवानपुरका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएपछि जिल्लाको राजनीतिक गतिविधि थप चर्किएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट विद्या श्रेष्ठले श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् । यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य रहेकी श्रेष्ठले उक्त जिम्मेवारी परित्याग गर्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भई निर्वाचनमा सहभागी भएकी हुन् ।
पछिल्लो समय हेटौँडा बजार क्षेत्रको सडक विस्तारका क्रममा देखिएका समस्या र स्थानीय सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी श्रेष्ठले श्रम, श्रमिक र आम नागरिकका मुद्दालाई संसदसम्म लैजाने प्रतिबद्धता व्यक्त गरे । उनको उम्मेदवारीमा ममता प्रधान प्रस्तावक तथा प्रविन कुमार रजक समर्थक रहेका छन् ।

यस्तै, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट युनिश लामाले श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । लामाको उम्मेदवारीमा रुद्रबहादुर मुक्तान प्रस्तावक तथा शिवबहादुर केसी समर्थक रहेका छन् ।















