रास्वपा महाधिवेशन : सांसद् उप्रेतीसहित मकवानपुरका चारैजना पराजित

मकवानपुर । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मकवानपुरका चारैजना पराजित भएका छन् । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचन सांसद् प्रशान्त उप्रेतीसहित मकवानपुरका ४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

उप्रेतीसहित चारैजना पराजित भएका हुन् । सांसद् उप्रेतीसहित मकवानपुरका सागर अर्याल, कृष्ण भेटवाल र भीम फुयाँलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । प्रशान्तले ४७३ मत प्राप्त गर्दा अर्यालले ९०१ मत, भेटवालले ५५० मत र फुयाँलले २५० मत प्राप्त गरेका थिए । मकवानपुरका उम्मेदवार मध्ये सागर अर्याल भने जितको नजिक पुगेर पराजित भएका हुन् ।

यसअघिका केन्द्रीय सदस्य एवम् सांसद् विन्दबासिनी कंसाकारले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने चर्चा भएपनि अन्ततः उनले उम्मेदवारी नै दिइनन् । मकवानपुरका ४ जना नेताहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकोमा सबै पराजित भएको रास्वपा मकवानपुरका नेता गोविन्द सापकोटाले जानकारी दिए ।

‘सांसद् प्रशान्त उप्रेतीसहित ४ जनाले उम्मेदवारी दिनुभएको थियो । वहाँहरुले जित्न सक्नुभएन’, सापकोटाले भने । रास्वपाको बागमती प्रदेश सभापतिमा भने मकवानपुरकै युवा नेता उत्सव अर्याल २ मतले विजयी भएका थिए । असार ७ गतेबाट सुरु भएको महाधिवेशन १२ गते सम्पन्न भएको थियो ।

महाधिवेशनले रवि लामिछानेकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उपसभापतिमा डा.स्वर्णिम वाग्ले, महिला उपसभापतिमा सोबिता गौतम, महासचिवमा विपिन आचार्य, सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी चयन भएका छन् । महाधिवेशनमा केही पदमा सर्वसम्मत प्रयास असफल भएपछि मतदान गर्नुपरेको थियो ।

पदाधिकारी चयनका लागि लामो छलफल भएपनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अपनाइएको थियो । रास्वपा महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएका थिए । ३ दिनका लागि भनिएको रास्वपा महाधिवेशन सर्वसम्मतीको प्रयास असफल भएपछि केही दिन धकेलिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.