भिमफेदीमा एमाले छाड्ने युवाहरूको लहर, एकपछि अर्को गर्दै राजीनामा

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गर्ने युवाहरूको क्रम बढ्दो देखिएको छ। केही दिनयता एकपछि अर्को गर्दै स्थानीय युवा तथा विद्यार्थी नेताहरूले पार्टीको संगठित सदस्यता त्याग्दै राजीनामा दिएका छन् ।

हालसम्म सार्वजनिक भएका पत्रअनुसार भूपेन्द्र राना मगर, सुदिप लामा र आशिष अस्लामी लगायत युवाहरूले पार्टीको जिल्ला तथा प्रदेश तहलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा आ-आफ्नो राजिनामा पत्र सार्वजनिक गरेका छन्। उनीहरू सबैले विगत केही वर्षदेखि विद्यार्थी संगठनमार्फत पार्टीमा सक्रिय सहभागिता जनाउँदै आएका थिए।

राजीनामा पत्रहरूमा उनीहरूले पार्टीभित्रको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। विशेषगरी टिके प्रणाली, नातावाद, कृपावाद तथा केही व्यक्तिको देवकरण हुने प्रवृत्तिले आफूहरू निराश बनेको उल्लेख गरिएको छ।

साथै, पार्टीभित्र अपेक्षित विचार, नीति र व्यवहारमा अन्तर देखिएको भन्दै स्वतन्त्र रूपमा समाजका लागि काम गर्ने निर्णय लिएको जनाइएको छ। पत्रमा उनीहरूले पार्टीमा रहँदा प्राप्त अनुभव, सहयोग र सिकाइप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नागरिकको हैसियतले समाज विकास, सुशासन र समृद्धिका लागि योगदान दिने प्रतिबद्धता जनाएका छन्।

स्थानीय तहमा युवाहरूको यस्तो बहिर्गमनले पार्टी संगठनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेषगरी सक्रिय र युवा जनशक्ति बाहिरिनु स्थानीय राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा पनि हेरिएको छ।

भिमफेदीमा देखिएको यो प्रवृत्तिले एमालेभित्रको आन्तरिक व्यवस्थापन र युवाप्रतिको दृष्टिकोणबारे प्रश्न उठाएको छ भने, आगामी दिनमा अन्य युवाहरू पनि यस्तै निर्णयतर्फ उन्मुख हुने सम्भावनालाई नकार्न सकिँदैन।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.