घरेलु मदिरा उद्योगमा मकवानपुर प्रहरीको छापा, ९ हजार लिटर मदिरा सहित ४ जना नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले घरेलु मदिरा उत्पादन हुँदै आएको एक भट्टिमा छापा मार्दै करिब ९ हजार लिटर मदिरा तथा कच्चा पदार्थसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार साँझ करिब ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित जगत बहादुर घिसिङको जस्ताले बनेको घरमा सञ्चालन हुँदै आएको मदिरा भट्टिमा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार सो क्रममा मदिरा भट्टि सञ्चालक अन्दाजी ६० वर्षीय जगत बहादुर घिसिङलाई नियन्त्रणमा लिइएको छ। साथै भट्टिमा काम गर्ने कामदारहरू चितवन कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ बस्ने १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ बस्ने ३४ वर्षीय सुरेश प्रजालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

छापामार कारबाहीका क्रममा प्रहरीले करिब ४ हजार लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा, ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा प्लास्टिकका ड्रम र बोतलहरू बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.