राक्सिराङमा एकीकृत घुम्ति शिविर सुरु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘बृहत एकीकृत घुम्ती शिविर’ सुरु गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताको लागि ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ शिविर सुरु गरेको हो ।

चैत ११ बाट सुरु भएको सेवा १६, १८ र २० गते फरक–फरक वडामा सञ्चालन गरिने भएको छ । शिविरको राक्सिराङ १ नम्बर वडाको दुङ्गुुबाट आरम्भ गरिएको हो । १६ गते ९ नम्बर वडा कार्यालय डन्टार, १८ गते ८ नम्बरको पाम्बुङ विद्यालय र २० गते ७ नम्बर वडाको श्री आधारभूत विद्यालय जुरेथुममा शिविर सञ्चालन गरिने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

शिविर अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम, महिला विकास कार्यक्रम, लघु उद्यम कार्यक्रम, एलोपेथिक स्वास्थ्य कार्यक्रम, बहुक्षेत्रीय पोषण योजना तेस्रो कार्यक्रम, आयुर्वेद स्वास्थ्य कार्यक्रम, पशु स्वास्थ्य र कृषि विकास कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वेरोजगार सुचीकरणको लागि निवेदन फारम भर्ने, वैदेशिक रोजगार सम्बन्धि परामर्श र एकीकृत रोजगार सेवा सम्बन्धि जानकारी लगायतको सेवा दिइनेछ ।

शिविरमा महिला विकास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान, अपांगता परीक्षण एवम् परिचयपत्र वितरण, मनोसामाजिक परामर्श लगायतको सेवा उपलब्ध गराइनेछ । लघु उद्यम कार्यक्रम अन्तर्गत नयाँ उद्यमी सिर्जना र भइरहेको उद्यमी छनोट सम्बन्धि जानकारी, निःशुल्क परामर्श, उद्यमशीलता विकास तालिम, प्राविधिक सीप विकास, प्रविधि समूहमा हस्तान्तरण तथा प्रविधि पहुँचमा सहयोग, बजारिकरण सेवा र लघु वित्तीय सहयोग कार्यक्रम प्रदान गरिनेछ ।

एलोपेथिक स्वास्थ्य कार्यक्रम अन्तर्गत मधुमेह, ब्लड प्रेसर, क्षयरोग, परिवार नियोजन (इन्प्लान्ट राख्ने र झिक्ने)सहित सबै रोगहरूको एम.वि.वि.एस.डाक्टरद्वारा सामान्य परीक्षणसहित औषधी उपचार र सर्ने तथा नसर्ने रोगको परामर्श जस्ता सेवा दिइनेछ । बहुक्षेत्रीय पोषण योजना तेस्रो कार्यक्रम अन्तर्गत सुनौला हजार दिन लक्षित गर्भवती र सुत्केरी आमालाई स्वच्छता सामग्री वितरण र तरकारीको विउ वितरण गरिनेछ । यस्तै आयुर्वेद स्वास्थ्य कार्यक्रम अन्तर्गत स्तनपायी, आमाको लागि दुग्धजन्य औषधि वितरण, जेष्ठ नागरिक औषधि वितरण र निःशुल्क औषधि वितरण गरिनेछ ।

जसमा समान्य रोगहरू जस्तै खोकी, मधुमेह, ग्यास्ट्रिकलगायतको औषधि उपलब्ध गराइएको छ । पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत घाँसको बिउ वितरण, पशु उपचार, पशुपालन परामर्श सेवा र निःशुल्क औषधि वितरण गरिनेछ । यस्तै कृषि विकास कार्यक्रम अन्तर्गत मलकार्ड, कृषि फर्म तथा कृषक समूह नविकरण, तरकारी बिउ, मकै बिउ, तथा कृषि अनुदानको सामग्री वितरण गरिनेछ ।

यस्तो रह्यो पहिलो दिनको सेवा
बृहत एकीकृत घुम्ती शिविरको पहिलो दिन कृषि कार्यक्रम अन्तर्गत घाँसको बीउ र औषधि १८० जनाले, तरकारीको मिनि किट २०० थान, टनेल प्यास्टिक २० थान, मिनि टिलर ३ थान, ईस्प्रे पम्प १० थान, ग्रीन नेट २० वटा कृषक समुहको सदस्यहरुलाई वितरण गरिएको छ । आयुर्वेदतर्फ २५० जनाले सेवा लिएका छन् भने स्वास्थ्य परीक्षण तर्फ २६० जनाले सेवा लिएका छन् ।

२५ जनालाई सुनौलो हजार दिनको आमालाई सस्वच्छता सामग्री बितरण गरिएको छ । शिविरमा ४ जनालाई अपांगता कार्ड र लघु उद्यम तर्फ ५ जनालाई मौरीको प्रविधि हस्तान्तरण गरिएको छ भने नयाँ उद्यमीको उद्यमशिलता सिर्जना गर्न २७ जनाको फारम भरिएको छ । यस्तै शिविरमा २४ जनाले उद्यमशिलता सम्बन्धि परामर्श लिएका छन् ।

५० जनाले बेरोजगार सूचीकरण फारम भरेका छन् । गाउँपालिका अध्यक्ष मल्लकै नेतृत्वमा घरघरमा पुगेर १२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा घरमै पुगेर फलफूल र औषधिसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै एक विद्यालय एक ल्यापटप वितरण कार्यक्रम अन्तर्गत गाउँपालिकाले ५ वटा ल्यापटप र एउटा प्रिन्टर वितरण गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.