मकवानपुर । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकै दिन दुई जनाको ज्यान गएको छ। जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा भएका दुर्घटनामा दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, जिल्लाको मनहरी गाउँपालिका–८ ढकालटोलका ६६ वर्षीय रेशम उप्रेतीको मृत्यु भएको हो। गत फागुन २२ गते बिहान ढकालटोलबाट पूर्व–पश्चिम राजमार्गतर्फ जाने क्रममा बाटोमा रोकिएको अवस्थामा रहेको ना २ ह ३२४७ नम्बरको अटो अचानक गुडी दुर्घटना हुँदा उप्रेती गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको समन्वयमा उनको उद्धार गरी चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा बिहीबार राति उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उक्त घटनामा अटो चालक राजकुमार ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक उप्रेती मनहरी गाउँपालिका–८ का वडाध्यक्ष नारायण उप्रेतीका दाजु हुन्।
यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा पर्ने हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा भएको ट्रक र ट्रेलर ठोक्किँदा ट्रेलर चालकको ज्यान गएको छ। आज बिहान हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकापसमा ठोक्किँदा ट्रेलर चालक सर्लाही बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरी स्टेरिङमा च्यापिएका थिए।
इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी तथा स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी हेटौँडा–११ स्थित सिएसी चुरेहिल अस्पताल लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि ट्रक चालक चितवनको खैरहनी नगरपालिका–९ का धनेश्वर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।

















