आज फागु पूर्णिमा अर्थात् होली
घरमै होली खेल्न प्रशासनको आग्रह

मकवानपुर । आज सोमबार यस वर्षको रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु हुने गर्दछ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु हुने फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोली मंगलबार विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व रहीआएको छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिएपनि अहिले पानीको बढी प्रयोग हुने गरेको छ । होलीमा मादक पदार्थ सेवन गर्नेहरुको संख्या समेत बढिरहेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि समेत आजबाट सुरु हुने भएकोले मकवानपुरको प्रहरी प्रशासनले घरमै बसेर होली खेल्न आग्रह गरेको छ । भिडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि नै सूचना जारी गरिसकेको छ ।

यस वर्षको होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा रहेकोले भिडभाडको कार्यक्रम नगर्न र गर्नैपरे प्रशासनको अनिवार्य स्वीकृति लिन भनिएको छ । होली मनाउने नाममा कसैलाई इच्छा विपरित, जबरजस्ती रंग र पानी नलगाउन अनुरोध गरेको छ । अमर्यादित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रशासनको चेतावनी छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.