मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्व–पश्चिम सडकखण्डमा ट्रक र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
बिहीबार राति करिब ११:४० बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो। हालसम्म दुर्घटनामा २ जना मध्यम र १२ जना सामान्य घाइते भएका छन्।
घाइतेहरूको हेटौंडास्थित CMC चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रकलाई घटनास्थलबाट हटाई सडक छेउमा पार्किङ गरिएको छ। दुर्घटना स्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १० किलोमिटर पूर्वमा पर्ने बताइएको छ।
घटनाको कारण र घाइतेहरूको पहिचानलगायत अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ।

















