मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा पहिलो संसदीय चुनाव नै जित्ने दाउमा रहेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामा यही दाउसहित चुनावी अभियानमा व्यस्त रहेका छन् ।
गाउँमा पुगेर मतदाता र कार्यकर्ता भेट्दै आफूलाई जिताइदिन उनले अनुरोध गरिरहेका छन् । सालिन, भद्र अनि राजनीतिमै लागेर अहिलेसम्म घर गृहस्थी समेत नगरेको परिचय बनाएका लामा स्थानीय तहको निर्वाचनको मतको आंकडा अनुसार सहज अवस्थामा रहेका छन् । अझ तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा कांग्रेसले तामाङ समुदायकै बुद्ध लामालाई उम्मेदवार बनाएर पठाएको हो ।
लामाले कांग्रेसको विभिन्न पद हुँदै जिल्ला सभापति पदमा रहेर समग्र कांग्रेसलाई नै नेतृत्व गरिरहेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजनीतिक सल्लाहकारको भूमिकामा रहेर समेत काम गरेका थिए । उनको उपस्थितिले एमाले र नेपाली कम्युनिष्ट पार्टी चुनौतीमा रहेको छ ।
‘मतदातालाई भेट्दा बद्लिएको कांग्रेसले देश बदल्ने र बनाउने आश गरेको पाएको छु । जनतालाई आफ्नो एजेण्डा र योजना भएको नेता पार्टी सभापति गगन थापा प्रधानमन्त्री बन्ने कुरा बुझाइरहेको छु’, लामाले भने, ‘पहिलो प्रयासमै जित निकाल्ने लक्ष्यका साथ चुनावी अभियानमा छु । लक्ष्य पूरा हुनेछ भन्नेमा विश्वस्त छु ।’ तामाङ र जनजाती समुदायको बाहुल्यता रहेको मकवानपुर २ आफ्नो लागि थप सहज भएको उनले स्वीकार गरे ।
अहिले कांग्रेसका नेता कार्यकर्ता एकढिक्का भएको दावी गर्दै उनले कांग्रेसले कांग्रेसको चुनाव चिन्हमा मतदान गर्दा आफ्नो जित सुनिश्चित रहेको दावी गरे । प्रतिनिधि सभा सदस्य निर्वाचन जित्न मकवानपुर २ मा राजनीतिक दलहरूले उम्मेदवार छनोटकै क्रममा विभिन्न रणनीति अपनाएको देखिएको छ ।
यस क्षेत्रमा भर्खर राजनीतिमा लागेका जेनजीदेखि लामो समयदेखि राजनीतिमा रहेका पाकासम्म उम्मेदवार रहेका छन् । यस क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको टिममा रहेर काम गरेका जेनजी प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाउँदा एमालेले २०७९ को चुनाव जितेका महेशकुमार बर्तौलालाई टिकट दिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले थाहा नगरपालिकाका पूर्व मेयर लवशेर विष्टलाई उम्मेदवार बनाएको छ ।
राप्रपाबाट रामबहादुर थोकर, श्रम संस्कृति पार्टीबाट युनिस लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, उज्यालो नेपाल पार्टीबाट प्रवीण स्याङ्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम घलान (वाटर), मंगोल नेशनल पार्टीबाट हिरालाल सिन्तान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान र जनता समाजवादी पार्टीबाट छविलाल वाईबा उम्मेदवार रहेका छन् । स्वतन्त्रतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, सीतामाया बल र रमेश आचार्य उम्मेदवार रहेका छन् ।
अहिलेसम्मको चुनावी माहौललाई आंकलन गर्दा यस क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाकै बीचमा मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । सबै उम्मेदवार आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३१ मतदाता रहेका छन् । १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र रहेको यस जिल्लामा १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
















