हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाले आज श्रोता मिलन कार्यक्रमको आयोजना गरेको छ । रेडियोले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौं दिन रेडियो परिसरमा श्रोता मिलन कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम रेडियोको स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता भएको हो । सो क्रममा आ–आफ्नो धारण राख्दै रेडियो श्रोता समूह मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, निवर्तमान अध्यक्ष असिम अधिकारी, हर्क घलान, अभिलासी खड्का, प्रकाश राई, सीताराम नेपाल, तेज बहादुर लामिछाने, गीता बजगाईँ, रमेश रंजन, दीलिप लामा र मोहन बहादुर बतौला लगायतले रेडियो थाहा संचारका कारण आफूहरु जोडिन पाएको र एकताबद्ध हुन पाएको भन्दै रेडियोको प्रशंसा गरेका थिए ।
कृष्णउदास खनालले सहजीकरण गरेको कार्यक्रममा आरती अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने वार्षिकोत्सवका कार्यक्रमका विषयमा राजन घिमिरेले प्रकाश पारे ।
रेडियोका स्टेशन म्यानेजर अधिकारीले रेडियोका लागि श्रोता सदैव भगवान सरह हुने भएकाले श्रोताले दिएका सुझाव अनुसार नै अगाडि बढ्दै जाने बताए । अहिले रेडियोहरुको आर्थिक अवस्था कमजोर भएपनि आफूहरु श्रोताको चाहना पूरा गर्नका लागि अनवरत रुपमा लागि रहने प्रतिबद्धता जनाए ।
रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा फागुन १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर १, स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको थियो भने फागुन ३ गते थाहा दर्शन कार्यक्रम तथा हिजो फागुन ४ गते मकवानवपुरगढी गाउँपालिका वडा नम्वर ५मा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य र आयोडिनयुक्त नुन वितरण गरिएको थियो । साथै अब फागुन ६ गते हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रम हुने जनाइएको छ ।

















