मकवानपुर । मकवानपुरमा आज बिहान संकास्पद वस्तु फेला परेको छ। जिल्लाको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी क्षेत्रमा रहेको धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपु् प्रहरीका अनुसार, बिहान करिब ५ बजेर १५ मिनेट जाँदा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त वस्तु देखेपछि तत्काल सुरक्षा सतर्कता अपनाएको थियो । घटनाबारे नेपाली सेनासँग समन्वय गरी सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो।
बिहान ८ बजेर १० मिनेटमा सेनाको टोलीले उक्त संकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको प्रहरीले जनाएको छ। उक्त घटनापछि केही समय सडक क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो भने हाल अवस्था सामान्य रहेको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

















