मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ किलो प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, मिति २०८२ साल १० महिनाको २३ गते दिउँसो करिब १ः३० बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित सडकमा चेकजाँच गर्ने क्रममा ना.४५ प.६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद देखी रोक्का गरेको थियो।
रितपूर्वक खानतलासी गर्दा सिन्तान र डिम्डुङको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो २ किलो फेला परेपछि निजहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध तथा प्रयोगमा ल्याइएको मोटरसाइकल जफत गरी दुबै जनालाई नियन्त्रणमा लिइएको र मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।















