मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका १० बेतेघारीलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । ३७ घरधुरी रहेको बेतेघारीलाई मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सफा र स्वच्छ गाउँ घोषणा गरेका हुन् ।
मोक्तानले खानेपानी सरसफाइमा ध्यान दिँदै दीर्घकालीन रुपमा स्वच्छ र सफा गाउँ बनाउन लाग्नुपर्ने सुझाव दिए । खानेपानी आम नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै उनले मानव जीवनमा पानी र सरसफाई अपरिहार्य रहेको स्मरण गराए । खानेपानीको कार्यक्रमलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको बताउँदै मोक्तानले खानेपानी दीगो बनाउन सबैको दायित्व रहनेमा जोड दिए ।
पानीका ट्याङ्की लगायत अन्य संरचना संरक्षण गर्नु स्थानीयको दायित्व भएको भन्दै उनले सबै मिलेर व्यवस्थापन गर्न निर्देशन दिए । एक घर एक धारा राज्यको नीति रहेको जानकारी दिँदै उनले सोही अनुरुप क्रमिक रुपमा टोल र गाउँमा काम गरिरहेको दावी गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले नेपाल सरकारको दीगो विकाससँग जोडिएको सरसफाई र खानेपानी क्षेत्रलाई व्यवस्थित र आवश्यक पूर्वाधारका कार्यहरु भैरहेको बताए । गाउँ समाज र टोललाई सफा र स्वच्छ बनाउने अभियान सबै वडा वडामा पु¥याउने गाउँपालिकाको लक्ष्य रहेको उनले बताए ।
आफ्नो टोल गाउँ सफा राख्नु सबैको कर्तव्य भएको जानकारी दिँदै उनले स्थानीय सरकारले नीति तथा कार्यक्रममा समेट्दै एक घर एक धारा पु¥याउने योजना रहेको सुनाए । कैलाश गाउँपालिका १० नम्बर वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुनसरी राई, बिमला सुनार, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तान, उपाध्यक्ष दलमान गुरुङ, आधारभूत स्वास्थ्य चौकी भाल्टारका प्रमुख सन्तोषकुमार सिंह, बेतेघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष आइत सिं स्याङ्बोलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सरसफाई कार्यमा उत्कृष्ट हुने स्थानीयबासी, खानेपानी समिति लगायत विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।















