हेटौंडा । मकवानपुर प्रहरीले ७ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ । शनिबार मकवानपुर जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा रीतपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बरामद लागूऔषधसहित पक्राउ परेकालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ निवासी २१ वर्षीय विकास परियार रहेका छन्।
उनको साथबाट ३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको छ। यस्तै, हेटौंडा उपमहानगरपालिका–४ निवासी २१ वर्षीय विनोद ढुंगानाको साथबाट ३ ग्राम लागूऔषध बरामद गरिएको छ । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–११ निवासी २२ वर्षीय छिरिङ लो र उपमहानगरपालिका–१९ निवासी २९ वर्षीय विनोद राज जिम्बाको साथबाट २५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको छ।
हेटौंडा उपमहानगरपालिका–१७ ठूले गंगटे निवासी २४ वर्षीय योएल प्रजा र २९ वर्षीय प्रेमबहादुर प्रजाको साथबाट २०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ । घटनाका सम्बन्धमा लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।















