सिद्धार्थ माविले स्वर्ण महोत्सव मनाउँदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउँदै छ । विद्यालयले आगामी माघ २ गतेदेखि साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।

स्वर्ण महोत्सवको तयारीका बारेमा मङ्गलबार विद्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव तयारी मूल आयोजक समितिका संयोजक एवं हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले शैक्षिक विकास र गुणस्तरीय शिक्षा सिद्धार्थ माविको पहिलो प्राथमिकता भएको बताए । स्वर्ण महोत्सव मनाउने अवस्थामा पुग्नु गौरवको विषय भएको भन्दै उनले भने “भव्य भवन बनेर मात्र नहुने र गुणस्तरीय शिक्षाले प्राथमिकता पाउनुपर्छ ।”

उनले विद्यालयको भौतिक पूर्वाधारमा सुधारसँगै शिक्षामा प्रविधिको प्रयोगमा जोड दिने गरी काम सुरु गरिएको बताए । विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले स्वर्ण महोत्सवका अवसरमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम साताव्यापी रुपमा आयोजना गरिने बताए ।

उनले विद्यालयले शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गर्दै आएको भन्दै विद्यालयले प्रविधिलाई अधिकतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनाका साथ अगाडि बढेको बताए । पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर २ का वडा सदस्यद्वय सुरज बर्तौला, ईन्द्र रिजाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, विद्यालयका सहायक प्रधानाध्यापकद्वय रामशरण अधिकारी र खेमराज लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.