हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बोर्डको कार्यालयमै निर्माण भएको प्रयोगशालामा आवश्यक उपकरण जडान पश्चात सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको प्रयोगशाला हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । मेयर लामाले खानेपानीसँगै ढल व्यवस्थापनमा समेत उपमहानगरपालिकाले योजनाबद्ध काम गरिरहेको जानकारी दिइन् । ‘हामी व्यवस्थित शहर बनाउन लागिपरेका छौं’, लामाले भनिन्, ‘उपमहानगरबासीलाई स्वस्थ खानेपानी उपलब्ध गराउँदै ढल व्यवस्थापनमा समेत काम गरिरहेका छौं ।’
बोर्डका अध्यक्ष प्रताप विष्टले उपमहानगरपालिकाको साथले योजना सम्पन्न गराउन मद्दत पुगेको बताए । ‘हेटौंडामा दैनिक ३ करोड ६० लाख लिटर खानेपानी उत्पादन भैरहेको छ । सबै प्रयोग भैरहेको छैन’, उनले भने, ‘यो प्रयोगशालामा महिनाको एक पटक खानेपानी बोर्डको ५५ वटै मुहानको पानी परीक्षण गर्ने गरेका छौं ।’
यसले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक र विश्वसनीय बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ । प्रयोगशालाको सञ्चालनले मकवानपुर मात्र नभई छिमेकी जिल्लाका उपभोक्तालाई समेत सहज रूपमा पानी परीक्षण सेवा उपलब्ध हुने खानेपानी बोर्डका अध्यक्ष विष्टले बताए ।
बोर्डका सूचना अधिकारी सन्जय न्यौपानेका अनुसार ३१ लाख रुपैयाँको लागतमा टेन्डर आव्हान गरिएकोमा काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति र जडानको जिम्मा पाएको थियो । कम्पनीले ४ महिनाभित्र आवश्यक सबै सामग्री जडान गरेको हो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, खानेपानी बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटालगायतले खानेपानी बोर्डले राम्रो सेवा दिइरहेको धारणा राखेका थिए । बोर्डका प्रशासन प्रमुख माधव चौलागाईंका अनुसार प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ र सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ परीक्षणमध्ये १४ वटा भौतिक, रासायनिक र सूक्ष्म जैविक परीक्षण गरिने जानकारी दिए ।
















