हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ लेखपानीमा रहेको जीवनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई द हेटौंडा अप्टिमिस्ट क्लवले शैक्षिक तथा खेलकुद सामग्री र जुत्ता सहयोग गरेको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच क्लवले ३९ जना विद्यार्थीलाई कपी, कलम, खेल सामग्री (फुटबल, भलिबल) तथा जुत्ता सहयोग हस्तान्तरण गरेको हो ।
विद्यालयमा धेरै बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको अवस्था देखेपछि जुत्ताको आवश्यकता महसुस गर्दै क्लवले सहयोग गरेको जनाएको छ । कार्यक्रममा द हेटौंडा अप्टिमिस्ट क्लवका अध्यक्ष जनक सुवेदीले हेटौंडा उपनगरपालिकाभित्रै यति विकट अवस्था देख्दा आफू भावविह्वल भएको बताए ।
यो दायित्व स्थानीय सरकारको भएपनि मानवीय संवेदनाका कारण क्लवले सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष सुवेदीकै अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर गोले, विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोले, संस्थाका पूर्व अध्यक्ष ओमप्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, निर्वाचित अध्यक्ष उत्तमप्रसाद भण्डारी तथा संस्थापक अध्यक्ष एवं वर्तमान निर्वाचित गभर्नर सरोजचन्द्र भट्टराईलगायतको उपस्थिति थियो ।
शैक्षिक सामग्री विज्ञान रिमालले सहयोग गरेका थिए । विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले सञ्चारमाध्यममा विद्यालयका विषयमा भएका समाचार प्रकाशन प्रसारणपछि विद्यालयमा उल्लेखनीय सुधार आएको बताए । खेलकुद सामग्री र जुत्ता पाउँदा विद्यार्थी खुसी भएका थिए ।
विभिन्न संघ–संस्था र व्यक्तिको सहयोगले हाल विद्यार्थीहरूले न्यानो कपडा, कपी कलमलगायत आधारभूत आवश्यक सामग्री पाउन थालेका छन् । द हेटौंडा अप्टिमिस्ट क्लव २०१८ सालमा हेटौंडामा स्थापना भएको हो ।















