बकैयामा खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आज पौष १९ गते शनिबार खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। हात्तीखोला युवा क्लबको आयोजनामा, बकैया गाउँपालिका–७ नम्बर वडा कार्यालयको सहकार्य तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी ‘छिन्तु’ तथा विशिष्ट अतिथिका रूपमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नं. ७ का अध्यक्ष मानबहादुर सिङ्तान (रमेश), बकैया खेलकुद विकास समितिका अध्यक्ष तथा संयोजक विजय लामा थिङ्ग लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुलामीले यस्ता खेलकुद प्रतियोगिताले वडा, पालिका र राष्ट्रलाई चिनाउन सहयोग पुग्नुका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए। उनले रिबन काटेर प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतियोगितामा करिब ५० जना खेलाडीको सहभागिता रहेको थियो। शनिबार नै दुई खेल एकैसाथ सम्पन्न गरिएका थिए। भेड्रास तर्फ ३ किलोमिटर दौडमा १० जना खेलाडी सहभागी भएका थिए। सो तर्फ प्रथम भक्तबहादुर भ्लोन, दोस्रो छोटेलाल जिम्बा र तेस्रो विमल नेपाल भएका थिए। सहभागी खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

खुला ५ किलोमिटर दौड प्रतियोगितामा दीपक रावलले १५ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थानमा नागेश्वर अहिर १५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए। तेस्रो स्थानमा भुपेन्द्र सुनार १६ मिनेट ०३ सेकेन्डमा दूरी पार गर्दै नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यसैगरी चौथो स्थानमा युनिक श्रेष्ठ (नगद ३ हजार), पाँचौँ स्थानमा रुपक माझी (नगद २ हजार), छैठौँ स्थानमा अशोककुमार साह (नगद १ हजार) र सातौँ स्थानमा राजकुमार गोले (नगद १ हजार) ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हात्तीखोला युवा क्लबका अध्यक्ष जिकेश सापकोटाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.