हेटौंडा । मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा र अफिम खेती फडानी गरी नष्ट गरिएको छ।
तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहत प्रहरी कार्यालयहरूको संयुक्त टोलीले पुस ११ गतेदेखि १४ गतेसम्म जिल्लाको उत्तरी भेगमा अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
अभियानका क्रममा राक्सीराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको लागूऔषध गाँजा करिब २१ बिगाहा र अफिम करिब ९ बिगाहा क्षेत्रफलमा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण तथा समाजलाई नशामुक्त बनाउने उद्देश्यले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।















