हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालका मौलिक चाडपर्वहरूलाई केवल धार्मिक उत्सवका रूपमा मात्र सीमित नराखी सामाजिक एकता, सांस्कृतिक पहिचान र सम्पन्नताका सूचकका रूपमा बुझ्नुपर्ने आवश्यकता औँलयाएका छन् ।
तमु अर्थात् गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले मौलिक चाडपर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र एकताको भावना सुदृढ बनाउने उल्लेख गरे । उनका अनुसार, चाडपर्वहरू केवल परम्परा निर्वाहका साधन मात्र नभई समाजलाई जोड्ने महत्वपूर्ण आधार हुन्।
प्रदेश प्रमुख देवकोटाले तमु ल्होसार गुरुङ समुदायको मौलिक कला, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गरे । ल्होसारको अघिल्लो दिनदेखि नै पूजा–पाठ, नाचगान र भोजभतेरमार्फत नयाँ वर्षको स्वागत गरिने तथा ल्होसारको दिन ढोगभेट र शुभकामना आदान–प्रदान गर्ने परम्पराले सामाजिक एकता मजबुत बनाउँदै आएको उनको भनाई छ ।
शुभकामना सन्देशमा उनले सम्पन्नतालाई आर्थिक सूचकमा मात्र सीमित नगरी मौलिक कला, संस्कृति, रहनसहन र जीवनशैलीसँग जोडेर मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको नेपाल विविधताबीचको एकता र सहअस्तित्वका कारण विश्वमै विशिष्ट रहेको उनले बताए ।
प्रदेश प्रमुख देवकोटाले तमु ल्होसार जस्ता पर्वहरूले एकता, सहकार्य र विकासको मार्गमा अघि बढ्न प्रेरणा दिने भन्दै उनले यस पर्वले शान्ति, स्थायित्व र समृद्धि हासिल गर्न सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्ने उल्लेख गरे । साथै उहाँले देश–विदेशमा रहनुहुने सम्पूर्ण गुरुङ समुदायमा तमु ल्होसारको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।















