हेटौंडा । मकवानपुरमा सोमबार भएका आगलागीका दुई छुट्टाछुट्टै घटनामा एक बालिका र एक महिला घाइते भएका छन् भने गोठसहित पशुचौपाया जलेर नष्ट भएका छन्।
मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा भएको घटनामा चितवनको राप्ती नगरपालिका–१ लोथर निवासी तथा हाल सोही स्थानमा कुखुरा फर्ममा काम गर्दै आएका दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा आगो ताप्ने क्रममा घाइते भएकी हुन् । फर्मको कम्पाउण्डभित्र आगो तापेर बस्ने क्रममा आमा बाहिर गएको बेला बालिकाको कपडामा अचानक आगो सल्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आगलागीबाट बालिकाको छाती र घाँटीमा पोलेको प्रहरीले जनाएको छ। घाइते बालिकालाई उनकी आमा सानुमाया प्रजाले उपचारका लागि हेटौंडा अस्पताल ल्याएकी थिइन्। चिकित्सकका अनुसार बालिकाको अवस्था मध्यम रहेको छ।
त्यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा ४४ वर्षीया कविता सिजाली आफ्नै घर नजिक रहेको काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा परेर सिजालीको ढाड र टाउकोमा पोलेको छ ।
उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको हो । चिकित्सकका अनुसार उनको शरीरको करिब १८ प्रतिशत भाग पोलेको छ र अवस्था मध्यम रहेको छ।
आगलागीबाट गोठ पूर्णरूपमा जलेर गोठभित्र रहेका खसी २ वटा, बोका २ वटा र बाख्रा ४ वटा जलेर नष्ट भएका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।















