हेटौंडा । मकवानपुरको रातोमाटे चेकपोइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो १ बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग २ ख १५६० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा बसमा सवार राक्सिराङ गाउँपालिका–१ का २० वर्षीय सुमन तामाङको झोलाबाट ६ किलो ७६० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । तामाङलाई नियन्त्रणमा लिई लागू औषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही दिन अपराह्न ४:२० बजे रातोमाटे चेकपोइन्टमै वीरगञ्जबाट नारायणघाटतर्फ आउँदै गरेको बा.प्र. ६–००१ ज ०४५१ नम्बरको यात्रुबाहक ईभी गाडी चेकजाँच गर्दा हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी का ३३ वर्षीय रामबहादुर गोलेको साथबाट २ ग्राम १२० मिलिग्राम खैरोहेरोइनजस्तो देखिने पदार्थ फेला परेको छ।
दुवै घटनामा बरामद लागू औषधसहित पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ।















