हेटौँडा सडक विस्तार विवाद अझै अनिश्चित, सर्वोच्चमा आज सुनुवाइ भएन

हेटौँडा । हेटौँडा बजार क्षेत्रमा प्रस्तावित २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज (बुधवार) सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि सुनुवाइ स्थगित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकारसहितले दायर गरेको रिट इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि तोकिएको थियो । तर, इजलासले मुद्दा हेर्न नमिल्ने ठहर गरेपछि आजका लागि तय भएको सुनुवाइ रोकिएको छ ।

हेटौँडा बजार क्षेत्रमा सडक सीमा २५/२५ मिटर (हाल २५/२५ गज अर्थात् करिब २२ दशमलव ५ मिटर) भित्रका संरचना हटाएर सडक विस्तार गर्न लागिएको भन्दै गत मङ्सिर १६ गते रिट दर्ता गरिएको थियो । निवेदकहरूले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको तथा आवश्यक प्रक्रिया पूरा नगरी संरचना हटाउन खोजिएको दाबी गरेका छन् ।

उक्त रिटमा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

यसअघि मङ्सिर १९ गते सर्वोच्च अदालतले संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि मङ्सिर २६ गते मुद्दासम्बन्धी मिसिल झिकाउने आदेश दिँदै पुस २ गतेका लागि पेसी तोकिएको भए पनि सुनुवाइ नहुँदा हेटौँडा सडक विस्तारसम्बन्धी विवाद अझै अन्योलमा रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.