भत्किएका लठिबद्र संरचनाले हेटौंडा बजार क्षेत्रमा जोखिम बढ्दो

हेटौंडा । सडक विस्तारका लागि भन्दै भत्काएर लठिबद्र पारिएको संरचनाका कारण हेटौंडा बजार क्षेत्रमा जोखिम बढेको छ । डिभिजन सडक कार्यालय हेटौंडाले २० गते शनिबार डोजर लगाएर भत्काएको घर टहरा त्यतिकै छाडिएका छन् । अझ केही व्यवसायीले भत्किएकै संचरनामा आफ्ना सरसामान राखेर व्यापार गरिरहेका छन् ।

पछिल्लो समय उक्त सामान किन्नेहरुको भीड समेत लाग्न थालेको छ । सडकमा असरल्ल विजुलीका तारहरु छरिएका छन् भने उत्तिकै धुलो उडिरहेको छ । भग्नावशेष घरलगायतका संरचना, विजुलीका तार तथा फुटपाथमै थुप्रिएका सामग्रीका कारण सर्वसाधारणलाई हिँडडुलमा समेत असर परिरहेको छ । फुटपाथमा नै ढलेका विद्युत्का पोल, झुन्डिएका बिजुली र इन्टरनेटका तार, सडकमा असरल्ल छरिएका तार, सडक किनारमा ढलेका अशोकका रुख र थुप्रिएका इँटा–रड तथा ढलानका टुक्राका कारण पैदलयात्रुहरू मुख्य सडकबाटै हिँड्न बाध्य छन् । यही कारण दिनहुँ सडक जाम भैरहेको छ ।

अस्पताल लगायत अत्यावश्यक सेवातर्फ जाने मुख्य बाटो भएकाले बिरामी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू थप समस्यामा परेका छन् । यसबाट दुर्घटनाको सम्भावना समेत बढेको छ । डोजर परिचालनका क्रममा कमजोर बनेका ती संरचना जुनसुकै बेला ढल्न सक्ने जोखिम रहेको छ । घरको अगाडिको भाग मात्र भत्काइएकाले बाँकी संरचना कमजोर बनेको रहेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथ अन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मका सडक खण्डमा मध्यरेखादेखि २५÷२५ गजभित्रका संरचना हटाउन सडक डिभिजन कार्यालयले मंसिर ५ गते १५ दिने सूचना जारी गरी २० गते शनिबार बिहानै डोजर चलाएको थियो । यता घरधनीहरुले भने विना मुआब्जा राज्यले आतंक सृजना गरी भत्काएको घर संचरना पुनः निर्माण गरिदिन माग गर्दै आन्दोलन समेत गरिरहेका छन् ।

उनीहरुले मुआब्जा लिएरै छाड्ने अडान कायम राख्दै आएका छन् । अदालतबाट तत्काल घर संरचना नभत्काउन उत्प्रेषण आदेश जारी हुँदाहुँदै झिसमिसे बिहानीमै डोजर लगाएर घर भत्काएको भन्दै घरधनी आक्रोशित बन्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.