हेटौंडामा स्टलसहित भव्य प्रदर्शनी मेला गर्दै सर्वोत्तम सहकारी

हेटौंडा। सर्वोत्तम सचिती बचत तथा ऋण सहकारी संस्था लि।ले आगामी मंसिर २६ र २७ गते १९ औँ वार्षिक साधारण सभा तथा भव्य प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। सहकारीले एक पत्रकार सम्मेलन गर्दै साधारण सभा, सहकारी उत्पादन प्रदर्शन तथा मेलासम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो।

दूरदराजका सदस्यबाट संकलित कच्चापदार्थको उपयोग गर्दै सहकारीले हाल ५० भन्दा बढी दैनिक उपभोग्य वस्तु तथा पशु आहार (गाई, भैँसी, बाख्रा, बंगुरका लागि घुली तथा पेलेट दाना) उत्पादन गरिरहेको छ। करिब ३ हजार शेयर सदस्य रहेको सहकारीले यसपटक ५० वटा स्टलसहित भव्य मेला सञ्चालन गर्ने बताएको छ।

सहकारीका अध्यक्ष राम बहादुर बस्नेतका अनुसार, मेलामा करिब २० हजार भन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ। मेला हेटौंडाको शुभ पार्टी प्यालेसमा सञ्चालन हुनेछ भने सबैका लागि प्रवेश तथा सहभागिता निःशुल्क रहनेछ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले वार्षिक साधारण सभा तथा प्रदर्शनी मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष बस्नेतले सहकारीले सदस्यलाई व्यवसायमुखी बनाउँदै उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने, विषादीयुक्त तथा मिसावटयुक्त खाद्य वस्तुबाट बच्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सदस्यको बचतलाई उत्पादनमा लगानी गरी रोजगारी सिर्जना गर्ने लगायतका उद्देश्यसहित उत्पादनमुखी कार्यलाई अझ सशक्त रूपमा अघि बढाइने बताए।

दुई दिनसम्म सञ्चालन हुने उक्त मेलामा सहकारीले उत्पादन गरिरहेका दैनिक उपभोग्य वस्तु, पशु आहार, स्थानीय कच्चापदार्थबाट बनेका सामग्रीहरू तथा सदस्यले तयार पारेका विभिन्न उत्पादनहरू प्रदर्शन गरिनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.