हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक पाँच महिनापछि आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १७ औँ अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार प्रदेश प्रमुखले हिउँदे अधिवेशन बैठक आह्वान गरेका हुन्।
प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको करिब पाँच महिनापछि प्रदेशसभा बैठक बस्न लागेको हो। यसअघि गत मंसिर ३ गते प्रदेश सरकारकै सिफारिसमा प्रदेश प्रमुख देवकोटाले वर्षे अधिवेशन अन्त्य गरेका थिए। त्यसयता प्रदेशसभा बैठक बस्न सकेको थिएन।
यसबीच जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभाहललगायतका संरचनामा क्षति पुगेपछि बैठक सञ्चालन प्रभावित भएको थियो। त्यही अवधिमा तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा घोषणा गरेका थिए।
पाठकले असोज १ गते प्रदेशसभामा लिखित राजीनामा पेश गरेका थिए। त्यसपछि बैठक सञ्चालन नभई मंसिर ३ गते अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि उपसभामुख अप्सरा चापागाईँले सार्वजनिक सूचना जारी गर्दै सभामुखको राजीनामाबारे प्रदेशसभा सदस्यहरूलाई जानकारी गराएकी थिइन्।
लामो अन्तरालपछि बस्न लागेको प्रदेशसभा बैठकलाई प्रदेशको समसामयिक राजनीतिक, कानुनी तथा प्रशासनिक विषयमा महत्त्वपूर्ण मानिएको छ।

















