मकवानपुर । यस वर्षको ‘बिजुलीमाया वन: अन्तर्राष्ट्रिय संगीत पुरस्कार, २०८२’ गीतकार किरण खरेललाई प्रदान गर्ने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल, मकवानपुरले १७ औं संस्करणको पुरस्कार गीतकार खरेललाई प्रदान गरिने जानकारी गराएको हो ।
उक्त पुरस्कार यही माघ १५ गते बिहीबार हेटौंडामा एक विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिने प्रतिष्ठान मकवानपुरका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । विसं २०१४ सालदेखि ए दूरका सितारा…बोलको गीतबाट संगीत क्षेत्रमा सक्रिय गीतकार खरेलले अहिलेसम्म ७ सयभन्दा बढी गीत लेख्नुभएको छ । खरेलका माइतीघर..जिन्दगीलाई जीत होइन….हिमालकोे काखमा छ मेरो सानो गाउँ….मन्दिरमा छ कि मूर्तिमा माया… लगायतका लोकप्रिय गीतका सिर्जनाकर्ता खरेलका ४ वटा गीत संग्रह प्रकाशित छन् ।
आधुनिक गीत लेखनदेखि चलचित्र क्षेत्रमा समेत महत्वपूर्ण र सफल गीतहरु सृजना गर्नुभएका खरेलको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।
यस प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको छ ।
उद्यमी तथा व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमा विजुलीमाया वनःको सम्झनामा २०६४ सालमा पुरस्कारको स्थापना गरेका थिए । ५० हजार रुपैयाँबाट सुरु गरिएका पुरस्कार राशी २०६७ सालदेखि एक लाख पुर्याइएको छ ।















