हेटौंडाका एक कार्यक्रमबीच भारतद्वारा नेपाललाई १० बेलिब्रिज सहयोग

हेटौंडा । छिमेकी मुलुक भारतले नेपाललाई १० वटा बेलिब्रिज सहयोग गरेको छ । बिहीबार हेटौंडामा एक कार्यक्रमकोक आयोजना गरी विपत् प्रभावित क्षेत्रमा आपतकालीन उपयोगका लागि भारत सरकारले नेपाललाई १० बेलिब्रिज सहयोग उपलब्ध गराएको हो ।

तीमध्ये पहिलो बेलिब्रिज हेटौँडामा आयोजित विशेष समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त पुल हस्तान्तरण गरेका थिए । गत महिना पूर्वी नेपालका विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि नेपाल सरकारको अनुरोधमा भारतले गत वर्षझैँ यस वर्षपनि १० वटा बेलिब्रिज उपलब्ध गराएको सडक विभागका महानिर्देशक विजय जैसीले बतताए ।

हाल प्राप्त पुलहरू हेवाखोला, बागमती नदी र लार्छालगायतको संवेदनशील तथा महत्वपूर्ण स्थानमा जडान गरिने उनले बताए । यसबाट सडक आवागमन पुनः स्थापना गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । हस्तान्तरण गरिएका पुलहरू ७० मिटर भन्दा लामो, ४ दशमलव २५ मिटर चौडा एकल–लेन संरचना भएका छन् । ती ३८ मेट्रिक टन भार वहन गर्ने क्षमता भएको बताइएको छ । पुल तत्काल जडानका लागि आवश्यक तयारी थालिएको महानिर्देशक जैसीले बताए । लामो स्प्यानका बेलिब्रिज जडानमा विशेष प्राविधिक दक्षता आवश्यक पर्ने भएकाले भारतले पुल निर्माण कम्पनी ‘गार्डन रिच’का प्राविधिक विशेषज्ञ नेपाल पठाउने तयारी गरेको समेत बताइएको छ ।

हेटौंडामा भएको कार्यक्रममा मन्त्री कुलमान घिसिङले विपत् व्यवस्थापनदेखि विकास निर्माणसम्म भारत नेपालका लागि विश्वसनीय साझेदारको रुपमा रहेको धारणा राखे । उनले हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ निर्माणदेखि विभिन्न पुल तथा सडक परियोजनामा भारतको सहयोगले नेपालको यातायात सञ्जाल सुदृढ बन्दै गएको दावी गरे ।

भारतीय एक्जिम बैंकमार्फत उपलब्ध गराइएका उदार ऋण सुविधामा सञ्चालन भएका परियोजनाले दुर्गम क्षेत्रमा पहुँच विस्तार, क्षेत्रीय कनेक्टिभिटी तथा राष्ट्रिय यातायात प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको उनको जिकिर छ । सीमापार रेलमार्ग विस्तार, विशेषगरी जनकपुर–कुर्था–विजलपुरा–बर्दीबास लाइन तथा जोगवनी–विराटनगर करिडोर परियोजना दुवै मुलुकबीचको सम्बन्ध अझ सुदृढ बनाउने आधार बनेको मन्त्री घिसिङले बताए ।

घिसिङले भूकम्पपछिको पुनर्निर्माणदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा र सामाजिक क्षेत्रसम्म भारतले पु¥याउँदै आएको सहयोगले नेपालका विभिन्न क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको जानकारी दिए । भविष्यमा हरित पूर्वाधार, जलवायु–प्रतिरोधी यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा पनि सहकार्य विस्तार हुने उनको अपेक्षा थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.