मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को रतुवा र ताम्लाङका ३२ घरमा एक घर एक धारा निर्माण गरिएको छ । चेपाङ समुदायको बसोबास रहेको उक्त टोललाई मंगलबार एक कार्यक्रमबीच पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।
टोललाई वडा अध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा घोषणा गरिएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि मुक्तानले खानेपानी आम नागरिकको मौलिक अधिकार भएको बताए । उनले मानव जीवनमा पानी र सरसफाई अपरिहार्य रहने भएकाले शुद्ध खानेपानी पिउन सबैमा अनुरोध गरे ।
खानेपानीको कार्यक्रमहरुलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको बताउँदै खानेपानी दीगो बनाउनको लागि उचित शुल्क उठाउनुपर्ने उनले बताए । ‘उक्त रकमले मर्मत सम्भारका साथै खानेपानीका संरचना संरक्षण गर्न सहजता हुन्छ । पानीको मुहान दर्ता गर्न आग्रह गर्दै मुहानको बीमा कार्यक्रम गाउँपालिकाले ल्याएको छ, दर्ता भएका मुहानको विपदमा भत्किएको अवस्थामा बीमा मार्फत निर्माण गर्न सहज रहन्छ’, मुक्तानले भने ।
प्रत्येक घरलाई फिल्टर प्रदान गरिएकाले खानेपानी शुद्धीकरण गरेर फिल्टरको मात्रै पानी प्रयोग गर्न समेत आग्रह गरेका छन् । साथै उनले पानीका ट्याङ्की लगायत अन्य संरचना संरक्षण गर्नु यहाँहरुको दायित्व हो भन्दै सबै मिलेर व्यवस्थापन गर्न निर्देशन दिए । चेपाङ समुदायको बाहुल्यता रहेको यस वडामा स्वास्थ्य, शिक्षा र सरसफाईका क्षेत्रमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले खानेपानी तथा सरसफाईका सूचक र उपसुचकलाई पालना गर्न अनुरोध गरेका छन् । स्वास्थ्य भन्दा ठुलो केही नभएको बताउँदै धेरै रोग पानीबाट लाग्ने भएकाले आ–आफ्नो बानी परिवर्तन गर्नुपर्ने बताए । टोलटोल हुदैँ वडा र पूरै पालिका घोषणा गर्नुपर्ने छ सोच परिवर्तन गरौं भन्ने भाव प्रकट गरेका थिए ।
प्रदुषित पानीबाट विभिन्न रोगव्यादी लाग्ने वडाध्यक्ष उदासकुमार भोलनले बताए । यस अघि विलाउने टोललाई घोषणा गरेका थियौं अहिले यहाँ घोषणा गरियो, घोषणा गरेर मात्र नहुने भएकाले मुहानदेखी भान्सासम्म पानी सफा हुनका साथै घर, शौचालय, भान्सा, टोल समुदाय सफा राख्नु सबैको दायित्व हो, वडाध्यक्ष भोलनले भने । ३२ घरमा धारा, फिल्टर र शौचालय नभएको घरमा शौचालय निर्माण गरिएको उनले बताए ।
प्रदुषित पानीले ६० प्रतिशत रोग लाग्ने ग्रामीण पुर्ननिर्माण केन्द्र(आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले बताए । जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले गाउँपालिकासँग सहजीकरण गरि साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेर सुरक्षित पानी, सरसफाई अभियान सञ्चालन गरिएको उनले बताए । ‘पानीको महत्व फराकिलो रहेकाले सचेतना बढाउनुस्, सोच बदल्नुस र सरसफाईका ७ सुचक र २३ वटा उपसुचकलाई पालना गर्नुस्’, उनले भने ।
कार्यक्रममा कार्यक्रममा वडा सचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्य चौकी ताम्लाङका प्रमुख मेनुका ठाकुर, रतुवा–ताम्लाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराम चेपाङ, सरस्वती प्राथमिक विद्यालयका प्रअ निर्मला सिन्तान लगायतको आतिथ्यता रहेको थियो ।















