मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा ठूला ढुंगाहरू खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान करिब ६ः५५ बजे बाटो माथिबाट ठूला ढुंगा खसेपछि सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । प्रहरी टोलीले स्थानीय निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । उक्त स्थान अस्थायी प्रहरी पोष्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्ने बताइएको छ ।
यस्तै, हिजो साँझबाट सिस्नेरी सडकखण्ड पनि अवरुद्ध रहेको छ । कुलेखानी–दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, ज्यामेरेस्थित अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसी बाटो पुर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए । उक्त घटनाबारे थाहा हुने बित्तिकै सडक विभागसँग समन्वय गरिरहेको छ ।
अहिले उक्त दुबै सडकखण्डमा सवारीसाधन आवागमन अवरुद्ध भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।















