मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालयले तिहार विशेष शुभकामना आदानप्रदान तथा देउसीभैलो प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो ।
विद्यार्थीहरुले देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम भएको थियो । साथै विद्यार्थीहरुले रंगोली समेत बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विद्यार्थीहरुको संस्कृति र परम्पराको ज्ञान विकासका लागि चाडपर्व लक्षित कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बिद्यालय सञ्चालक समिति अध्यक्ष नवराज अर्याल, पूर्व बिद्यार्थी समाज अध्यक्ष प्रदिप कंडेल, लाल खवर डटकमका सम्पादक राजकुमार के.सी., अभिभावक कृष्ण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका २० भन्दा बढी समूहले देउसी भैलो प्रस्तुत गरेका थिए ।
कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन हुने विद्यालयमा हाल ९ सय ८० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक निर्मल तिमल्सिनाले बताए । प्रधानाध्यापक तिमल्सिनाका अनुसार बिद्यालयमा ६० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।















