हेटौंडा । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको शव वहान पुनः तयार भएको छ। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सामाजिक सञ्जालमार्फत नयाँ शव वहान सञ्चालनका लागि तयार भएको जानकारी दिँदै उक्त घटनाप्रति गहिरो पीडा व्यक्त गरेकी छन्।
उनले लेखेकी छन्, “उपमहानगरपालिकाको शव वहान खरानी भयो भन्ने सुनेपछि मन थाम्न सकिन, निकै रोएँ। आफ्नै घर जल्दा पनि यति पीडा भएको थिएन।”
आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालय र उनका अग्रज, समकालीन तथा अनुज नेताहरुको घरसँगै प्रमुख लामाको घर पनि जलाइएको थियो। तर, शव वहान जलेको खबरले उनलाई विशेष गरी गहिरो चोट पुगेको उनले खुलेर अभिव्यक्ति दिएकी छन्।
उनले भकेकी छन्, “शव वहान व्यवस्थापनको जिम्मेवारी मैले आफैं लिएकी थिएँ ताकि जीवनका सबैभन्दा कठिन घडीमा नगरवासीले सास्ती भोग्न नपरोस्। शव वहान सहज रूपमा सम्बन्धित परिवारसम्म पुग्न सकोस् भन्ने उद्देश्यले व्यवस्था मिलाइएको थियो।”
सरकारी खरिद प्रक्रियाका कारण तत्काल नयाँ शव वहान ल्याउन सहज नभए पनि अहिले नयाँ शव वहान सञ्चालनका लागि तयार भएको र आवश्यक परेमा नगरवासीले उपमहानगरपालिका वा जनप्रतिनिधिलाई सम्पर्क गर्न सक्ने उनले जनाइन्।
उनले थपेकी छन्, “शव वहान नचाहिने मानिस धर्तीमा को जन्मिएको होला र! सबै जलाए पनि शव वहान जोगाएको भए मानवीय चेतनाको एउटा उत्कृष्ट नमुना बाँकी रहने थियो, होला।”
भदौको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी हुँदा हेटौंडा उपमहानगरपालिकाको कार्यालयसमेत क्षति पुगेको थियो।















