अविरल वर्षा तीन दिनसम्म जारी रहने, सतर्क रहन कांग्रेस बागमतीको आग्रह

file-photo

हेटौँडा । मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा निरन्तर रहने प्रक्षेपण गरेसँगै नेपाली कांग्रेस बागमती प्रदेशले आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तीनै तहका सरकारलाई जोखिमपूर्ण क्षेत्रको पहिचान गर्न, त्यहाँका बासिन्दालाई पूर्वजानकारी दिन र उद्धार–राहतका कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेका हुन् ।

उनले प्रदेशभर निरन्तर वर्षाका कारण पहाडी भू–भागमा पहिरो र नदी–नालामा पानीको बहाव बढ्दै गएको छ भने तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेको भन्दै बाढी–पहिरोको उच्च जोखिम भएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराए ।

बानियाँले दसैंको अवसरमा टीका–आशीर्वाद लिन आउने–जानेको चहलपहल बढ्ने भएकाले लामो दूरीको यात्रा नगर्न, असहज अवस्थामा सामाजिक सञ्जालमार्फत आशीर्वाद ग्रहण गर्न र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सबैलाई अनुरोध गरे ।

यस्तै, कांग्रेस बागमतीले आफ्ना स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहका पदाधिकारी, सदस्य तथा शुभेच्छुक संस्थालाई प्रभावित क्षेत्रमा पुग्न, उद्धार र राहत कार्यमा खटिएका सरकारी संयन्त्रलाई सहयोग गर्न र थप जोखिम हुन सक्ने क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिएको छ । साथै, प्राकृतिक विपत्तिबाट प्रभावित भएकालाई तत्काल उद्धार, स्वास्थ्य उपचार, उचित राहत र क्षतिपूर्ति प्रदान गर्न कुनै पनि ढिलासुस्ती नगर्न प्रदेश कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.