हेटौंडा । पश्चिम मकवानपुरको मनहरी ५, बसन्तपुरमा तीन दिन निराहार ञ्युङ्ने मौनव्रत हुने भएको छ । ञ्युङ्ने मौनव्रत टासी छ्योईलिङ गुम्बामा असोज १३ गते देखि तीन दिन महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत सुरू हुने भएको हो ।
दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले मौनव्रत आयोजना गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष राजाराम स्याङ्तानले बताए । नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघको गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा हुने व्रत असोज १३ देखि १६ गतेसम्म व्रत सन्चालन हुनेछ ।
असोज १३ गते फूलपातीको दिन लामा गुरु, आनीज्योमो, मणिपा र उपासक उपासिकाहरू जम्मा, १४ गते बिहान शिल ग्रहण (सोक्ज्योङ) गरिनेछ भने असोज १५ गते नवमीको दिन मौनव्रत (कुक्पा) बसिनेछ । अन्तिम दिन असोज १६ गते दशमीको बिहान ६ बजे व्रत विसर्जन गरिनेछ । त्यसपश्चात प्रवचन, पुजापाठ गरी कार्यक्रम समापन हुने समितिको अध्यक्ष स्याङ्तानले जानकारी दिए ।















