काठमाडौं । आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन । आन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि रहेको छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ ।
नवरात्रको पहिलो दिन असोज ६ गते सोमवार दशैँघर वा पूजा कोठामा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो भने सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ ।
दोस्रो दिन मंगलवार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधवार हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।















