कारागारबाट भागेका १६६ कैदीबन्दी मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । देशभरका विभिन्न कारागार तथा बाल सुधार गृहबाट भागेका १६६ जना मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा उनीहरु कारागारबाट भागेका थिए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार, भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दीमध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२ जना अझै फरार रहेका छन् ।

भीमफेदी कारागारमा एक नाबालकसहित १ हजार ६६ जना कैदीबन्दी रहेको उनले बताए । यस्तै, मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा ९४ जना रहेका थिए ।

यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । नख्खु कारागारबाट भागेकामध्ये ७ जना र जगन्नाथदेवल स्थित केन्द्रीय कारागारबाट भागेका दुई जनालाई मकवानपुरबाट नियन्त्रणमा लिइएको छ । कास्की कारागारबाट भागेका एक जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले जानकारी गराए । उनीहरुको पहिचान गर्ने कार्य भइरहेको र सुरक्षा निकायहरुले फरार रहेका अन्य कैदीबन्दीहरुको पनि खोजी कार्यलाई तीव्रता दिएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.