नेपाल प्रेस युनियन मकवानपुरद्वारा जेन-जी आन्दोलनलाई समर्थन

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले हालै भ्रष्टाचारविरुद्ध उत्रिएको जेन-जी पुस्ताको आन्दोलनलाई समर्थन जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै युनियनले लोकतन्त्र, संवाद र वाक स्वतन्त्रताको पक्षमा आफू निरन्तर उभिएको स्पष्ट गरेको हो।

विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि सरकारकै आडमा गोली प्रहार गरी हत्या गर्न खोजिएको घटनाप्रति घोर आपत्ति जनाइएको छ। युनियनले स्वतन्त्र नागरिकका अधिकार कुण्ठित गर्ने प्रयास अस्वीकार्य भएको उल्लेख गर्दै सरकारले उठाइएका मागलाई तत्काल सम्बोधन गर्न र बल प्रयोगमार्फत दमन गर्ने कार्य रोक्न चेतावनी दिएको छ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुभास बिडारीले हस्ताक्षर गरिएको विज्ञप्तिमा, “सत्तामा बसेका दलहरूले जनतालाई धोका दिँदै आएका छन्। भ्रष्टाचार र विसंगतिको विरुद्धमा जेन-जी पुस्ताले चालेको कदम ऐतिहासिक र सही हो,” भनिएको छ।

युनियनले आन्दोलनमा सहादत प्राप्त गरेका वीर युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। साथै, भ्रष्टाचारविरुद्धको आन्दोलनलाई नैतिक रूपमा निरन्तर साथ र समर्थन रहने स्पष्ट गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.