मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा आज बिहान ठूलो आगलागी हुँदा करिब दुई करोड बराबरको धनमाल नष्ट भएको छ ।
बिहान करिब ७:४५ बजे सुरु भएको आगो नियन्त्रणमा लिन गरगरे प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको थियो । स्थानीयको सहयोगमा हेटौंडा उपमहानगरपालिकाको दमकल समेत खटिएर करिब दुई घण्टा पछि बिहान ९:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आगो निभाउने क्रममा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा दुबै हात र खुट्टा पोलिँदा घाइते भएका छन् । उनलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा हुँदै कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ । जिम्बाको शरीरको करिब ४० प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तिसुडेबाट समेत थप प्रहरी टोली तथा बागमती गाउँपालिकाको दमकल घटनास्थल पुगेका थिए । जिम्बाका अनुसार पसल अगाडि बलेको दियोमा पेट्रोलको ड्रम पल्टिँदा आगो सल्किएको हो ।
यस आगलागीमा दुईतले पक्की घर पूर्ण रूपमा जलेको छ भने हातेमालो सहकारीबाट ल्याइएको करिब १५ लाख नगद समेत खरानी भएको छ । साथै ३० थान ग्यास सिलिन्डरसहित पेट्रोल, डिजेल, खाद्यान्न, अन्नपात, लत्ता–कपडा, फर्निचर लगायत सम्पूर्ण सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरभित्र राखिएको बा.प्र.०३–००६ प १८९७ नंम्बरको एनएस २०० सि.सि. पल्सर मोटरसाइकल र सामान किन्न आएका नारायणबहादुर स्याङतानको ना.४९ प १३ नंम्बरको पल्सर २२० सि.सि. मोटरसाइकल जलेर नष्ट भएको छ । सोही आगलागीमा एउटा कुकुरको बच्चा समेत जलेर मरेको छ ।
प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ ।















